संविधानसभामा अनुपस्थितिप्रति चिन्ता

मस्यौदामाथिको छलफलमा भाग लिने इच्छा झन्डै पौने ५ सय सभासदहरुले व्यक्त गरेका छन्
तस्बिरको क्याप्शन, मस्यौदामाथिको छलफलमा भाग लिने इच्छा झन्डै पौने ५ सय सभासदहरुले व्यक्त गरेका छन्

संविधानको पहिलो मस्यौदा जस्तो महत्वपूर्ण विषयमा संविधानसभामा छलफल चलिरहँदा सभाकक्षका अधिकांश कुर्सीहरु रित्तो देखिएकोमा व्यापक आलोचना भैरहेको छ।

प्रमुख दलका शीर्ष नेताहरु नै छलफलका क्रममा नदेखिंदा ती दलका सभासदहरुको उपस्थिति पनि उत्साहप्रद हुन नसकेको बताइन्छ।

संविधानसभा सचिवालयले चाहिँ दैनिक १० घण्टा भन्दा बढी समयसम्म भैरहेको छलफलमा भाग लिन पौने पाँचसय भन्दा बढी सभासदहरुले नाम टिपाएको भन्दै बचाउ गरेको छ।

हालसम्म २ सय ६० जना भन्दा बढी सभासदहरुले मस्यौदामाथि आफ्ना धारणा राखिसकेका छन्।

आलोचना

मस्यौदामाथि छलफल गर्ने कार्यसूची राखिए यता दैनिक ५ सयको हराहारीमा सभासदहरुको हाजिरी रहेको देखिएपनि आफू बोलिसकेपछि बैठक छाडेर बाहिरिने प्रवृत्ति अधिकांश सभासदहरुमा देखिएको छ।

प्रमुख दलका शीर्ष नेताहरु नै अनुपस्थित रहने भएकाले सभासदहरुमा उत्साहको कमी देखिनु सामान्य भएको संविधानविद् निलाम्बर आचार्यले बताए।

उनले भने,“शीर्ष नेताहरु उपस्थित हुने, उनीहरुले बोल्ने र त्यही छलफलहरु गर्ने भैदिए पो सभासदहरुलाई चाख बढ्ने थियो। शीर्ष नेताहरु नै नगएपछि अरुलाई पनि त्यति कर हुँदैन।”

मस्यौदामाथि सोमबार चौथो दिनको छलफल भैरहँदा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड संविधानसभा भवनमा नै गएनन्।

हालसम्म पूर्व प्रधानमन्त्रीहरुमध्ये नेकपा एमालेका माधव कुमार नेपालले मात्र मस्यौदामाथिको छलफलमा भाग लिएका छन्।

बचाउ

सभाकक्षका लगभग सबैजसो सिट रित्तो देखिएपछि व्यङ्ग्य गर्दै कतिपय सभासदहरुले आफ्ना कुरा सुन्ने कोही नभएको भन्दै जनतासमक्ष आफ्ना धारणा पु-याइदिन संचारमाध्यमहरुलाई आग्रह गरेका थिए।

तर नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठn] सभासदहरुको बचाउ गर]।

उनले भने, “अहिले मतदानको बेला होइन, त्यही भएर हामीले अनिवार्य उपस्थिति नभनेका हौँ. अहिले आआफ्नो धारणा दिने हो, बोल्न बाँकL सभासदहरु बस्छन्, बोलिसकेकाहरुले अरु पनि काम गर्नुपर्छ।”

विभिन्न समितिहरुको बैठकमा भाग लिनुपर्ने र बजेट तथा नीति कार्यक्रमको तयारी भैरहेकाले सभासदहरुले “चार तिर डुल्नुपरिरहेको’ उनले बताए।

संविधानसभा सचिवालयले मस्यौदामाथिको छलफलमा भाग लिन अहिलेसम्म ४ सय ७८ जनाले नाम टिपाएको भन्दै संख्याकै आधारमा हेर्ने हो भने पनि त्यसलाई उत्साहप्रद मान्नुपर्ने टिप्पणी गरेको छ।

प्रक्रिया

हालसम्म २ सय ६० जना भन्दा बढीले धारणा राखिसकेको भन्दै सचिवालयका प्रवक्ता भरतराज गौतमले बैठक कक्ष रित्तो देखिनु स्वाभाविक भएको बताए।

उनले भने, “बिहान ८ बजेदेखि बेलुका ७/८ बजेसम्म बैठक बसिरहेको छ। यस्तोमा आउने जाने भैरहन्छ, जहाँ पनि मिटिङ्गमा यस्तै हुदैँन र?”

संविधानको पहिलो मस्यौदा सभासदहरुलाई अध्ययन गर्न सात दिनको समय उपलब्ध गराउनुपर्ने नियमलाई निलम्बन गर्दै शुक्रबारबाट मस्यौदामाथिको छलफल अघि बढाइएको हो।

तर त्यसप्रति चिन्ता जनाउँदै विज्ञहरुले संविधानसभाबाट संविधान निर्माण गर्दा मस्यौदामा उल्लेखित विषयवस्तुकै हाराहारीमा विधि र प्रकृयालाई महत्व दिइनुपर्ने बताएका छन्।