विशेषज्ञहरु विमान दुर्घटनास्थलमा

घटनास्थलबाट रेल्वेमा शव राखी युक्रेनी शहर टोरेज पुर्याइएको थियो।

तस्बिर स्रोत, Getty

तस्बिरको क्याप्शन, घटनास्थलबाट रेल्वेमा शव राखी युक्रेनी शहर टोरेज पुर्याइएको थियो।

अन्तर्राष्ट्रिय विशेषज्ञहरुका तीनवटा टोली पूर्वी युक्रेनमा गत साता मलेसिया एयरलाइन्सको विमान दुर्घटना भएको स्थानमा पुगेका छन्।

त्यस क्षेत्रमा द्वन्दरत पक्षबीच युद्धविराम भइरहेको छ।

विमान दुर्घटना भएको ठाउँमा पुगेका एक पर्यवेक्षकका अनुसार शवहरु निकाल्ने क्रममा विमानका भग्नावशेषहरुलाई थप टुक्रयाइएको थियो।

यसैबीच मृत्यु भएका यात्रुहरुका शव बोकेको विशेष रेल अहिले युक्रेन सरकारको नियन्त्रणमा रहेको स्थानमा पुगेको छ।

पुर्वी युक्रेनमा रहेका युरोपेली सुरक्षा तथा सहयोग संगठनको अनुगमन टोलीका एक सदस्य माइकल बोसिउर्कीले दुर्घटना भएको मलेसिया एयरलाइन्सको विमानका भग्नावशेषहरु आफूहरुले पहिलेभन्दा फरक देखेको बीबीसीलाई बताए।

भग्नावशेष

उनले भने, ''हामीले के देखिरहेका छौं भने, त्यो विमानका टुक्राहरु पहिले जे जस्तो अवस्थामा थिए, अहिले त्यो भन्दा फरक देखिरहेका छौं। अर्को शब्दमा भन्नु पर्दा सो विमानका भग्नावशेषहरु काटिएका छन्।''

शवहरु निकाल्नका लागि त्यसो गरिएको हुन सक्ने उनको भनाई छ।

अर्कोतिर मृत यात्रुहरुका शव तथा टुक्राहरु बोकेको एक विशेष रेल युक्रेनी सरकारको नियन्त्रणमा रहेको खार्किव नगर पुगेको छ।

सो विमान दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये अधिकांश यात्रु नेदरल्याण्ड्सका थिए।

नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले बुधबार एक डच विमानले ती शबहरुलाई नेदरल्याण्ड्स पुर्याउने जानकारी दिएका छन्।

शवहरुको पहिचान गरी आफन्तलाई बुझाउन महिनौं लाग्न सक्छ।

प्रमाण

एम एच 17 विमान गत बिहिबार पुर्वी युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

त्यसमा सवार सबै २९८ जनाको मृत्यु भएको थियो।

पश्चिमा देशहरु भन्छन्, रुसले उपलब्ध गराएको क्षेप्यास्त्रको प्रयोग गरी विद्रोहीहरुले सो विमान खसालेको प्रमाणहरु फेला परिरहेका छन्।

तर रुसले त्यस्लाई अस्वीकार गर्दै युक्रेनी सरकारी फौजहरु त्यसप्रति जिम्मेवार भएको बताएको छ।

सोमबार दोनेत्स्कस्थित विद्रोहीहरुले सो विमानको ब्लाक बक्स मलेसियाली अधिकारीहरुलाई बुझाएका थिए।

अनुसन्धानकर्ताहरुले चालकहरुको कुराकानी रेकर्ड हुने ब्लाक बक्स यन्त्र राम्रो अवस्थामा भेटिएकोले त्यसको जाँचबुझपछि दुर्घटनाको कारण थाहा पाउन सकिने बताएका छन्।