३० लाख सिरियाली देश छोडेर भागेः राष्ट्रसंघ

लाखौं सिरियालीहरु टर्की र लेबनन पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, लाखौं सिरियालीहरु टर्की र लेबनन पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ

जारी गृहयुद्धका कारण तीस लाखभन्दा बढी सिरियालीहरु आफ्नो देश छोडेर भागेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघीय शरणार्थी निकायको भनाईमा सिरियाको शरणार्थी समस्या वर्तमान समयको सबैभन्दा ठूलो मानवीय संकट हो।

तैपनि विश्व समुदायले ती शरणार्थी र तिनलाई आश्रय दिईरहेका देशका आवश्यकताहरु पुरा गर्न विफल भइरहेको सो निकायले भनेको छ।

राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार सिरियाको युद्ध छोडी भाग्न बाध्य मानिसहरुमध्ये अधिकांशको अवस्था दयनीय छ।

विस्थापित

उनीहरु तर्सिएका, थाकेका र बेखर्ची अवस्थामा छन्।

सिरियाभित्रै पनि ६० लाखभन्दा बढी मानिसहरु आन्तरिक रुपमा विस्थापित छन्।

त्यसको मतलब सिरियाको झन्डै आधा जनसंख्या बेघर छन्।

राष्ट्रसंघका अनुसार अधिकांश शरणार्थीहरु सिरियाका छिमेकी देशहरुमा गएका छन्।

तीमध्ये धेरै अहिले लेबननमा शरण खोजिरहेका छन्।

गृहयुद्ध

सिरियाको तीन वर्षे गृहयुद्धमा एक लाख नब्बे हजारभन्दा बढीको ज्यान गईसकेको छ।

सिरियाका विपक्षी समुहहरुले राष्ट्रपति बसर अल असद समर्थक फौजहरुसँग लडिरहेका छन्।

पछिल्लो समयमा इस्लामिक स्टेट समुहको गठन र विस्तारका कारण सिरियाको अवस्था झनै बिग्रिएको छ।

सो समुहले सिरिया र इराकको ठूलो भूभागमा कब्जा जमाइरहेको छ।