अझै ३०० मानिस भेटिन बाँकी: गृहमन्त्रालय

भूकम्पमा परी सबैभन्दा बढी सिन्धुपाल्चोकमा करीब ३ हजार मानिसले ज्यान गुमाएका छन्।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भूकम्पमा परी सबैभन्दा बढी सिन्धुपाल्चोकमा करीब ३ हजार मानिसले ज्यान गुमाएका छन्।

भूकम्पबाट प्रभावित जिल्लाहरुमा अझै तीन सय मानिसहरु हराइरहेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

भूकम्पका कारण देशभरका कूल घरमध्ये दश प्रतिशत क्षतिग्रस्त भएको उनीहरुको भनाइ छ।

बुधबार भूकम्पबाट सबैभन्दा प्रभावित मध्येका तीन जिल्लामा प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी नेता प्रचण्डले साथै भ्रमण गरेका थिए।

भूकम्प र त्यसपछि आएका पहिरोहरुमा परी हराइरहेकाहरुको संख्या ३ सय १८ रहेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।

आँकडा

उनले भने, "हराइरहेकाहरुको कूल संख्या ३१८ छ। तीमध्ये हराइरहेका विदेशीको संख्या १०५ छ। चेक रिपब्लिकका तीनजना चाहिँ फेला परेका छन्।"

हालसम्म भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या सात हजार ६ सय पचहत्तर पुगेको छ।

तीमध्ये सबैभन्दा धेरै झण्डै तीन हजार मानिस सिन्धुपाल्चोकमा मारिएका छन्।

काठमाण्डौंमा १२ सय अनि नुवाकोटमा ९ सय तीसले ज्यान गुमाएको पछिल्लो आँकडा छ।

संरचनाहरुको हकमा झण्डै तीन लाख निजी र दश हजार बढी सरकारी भवन पूर्ण क्षतिग्रस्त भएका छन् भने सवा दुई लाख निजी र करीब पन्ध्र हजार सरकारी भवन आंशिक क्षतिग्रस्त भएका छन्।

सन्देश

भूकम्पबाट सबैभन्दा प्रभावित जिल्लाहरुमा राहत वितरणमा केन्द्रित अभियान तीव्रताका साथ अघि बढेको उनीहरुको भनाइ छ।

फेरि गृहका प्रवक्ता लक्ष्मी ढकालले भने, "हामीले बुधबार पनि राहत सामग्री वितरण गरेका छौं। पालहरु आउने क्रम जारी छ। बुधबार चीनबाट तीनवटा हेलिकप्टर आयो। तिनीहरु मध्ये दुईवटालाई सिन्धुपाल्चोक र एउटालाई रसुवामा परिचालन गरिएको छ।"

बुधबार भूकम्पबाट सबभन्दा प्रभावित मध्येका तीन जिल्लामा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले साथै भ्रमण गरेका छन्।

उनीहरुले विपदको बेला राष्ट्रिय एकता संगठित गर्न जरुरी रहेको सन्देश पनि दिएका थिए।