'पहिरोका कारण कम्तीमा ३५ को मृत्यु'

बाढी पहिरोका कारण नेपालमा वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको छ
तस्बिरको क्याप्शन, बाढी पहिरोका कारण नेपालमा वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको छ

पश्चिम नेपालको कास्कीलगायत अन्य तीन जिल्लामा गएको पहिरोमा परी कम्तीमा ३५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

कास्कीमा मात्रै ज्यान गुमाउनेको संख्या ३० पुगेको छ।

घाइते २० जनाको पोखरास्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ।

घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

उद्धार

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने, "अहिलेसम्म लुम्ले, ढिकुरपोखरी र भदौरे तामागीमा गरी ३० जनाको शव प्राप्त भइसकेको छ।"

ती ठाउँका पहिरोमा परी अझै करीब १० जना हराइरहेका प्रमुख जिल्ला अधिकारी राउतले बताए।

तिनको खोजिकार्य बिहीबार साँझसम्म जारी थियो।

ती स्थानहरुमा प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको राउतले बीबीसीलाई बताए।

प्रजिअ राउतले भने, “प्रभावित क्षेत्रमा सेना र प्रहरीको टोलीले उद्धार कार्य साँझ सम्म जारी राखेको छ।”

अवरुद्ध

बुधबार राती ९ बजेदेखि शुरु भएको मुसलधारे पानी बिहान ४ बजेसम्म अविरल परिरहेको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले बताए।

पहिरो मध्य रात १ बजेतिर गएको बताइएको छ।

त्यस्तै बाग्लुङ रायडाँडा-९ आप्रेमा बिहीबार विहान वर्षासँगै आएको पहिरोले एउटा घर बगाएको छ।

घर पुरिँदा ८३ वर्षीय कर्णधर थापाको मृत्यु भएको छ।

त्यहाँ चौकी कुस्मिशेराबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी म्याग्दी मुना-४ मा पनि पहिरोमा परी दुईजनाको मृत्यु भएको छ।