सबै अवरुद्ध सडक खोल्न जेठभरी लाग्ने

सबै सडकहरु खुलाउन जेठ महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन्
तस्बिरको क्याप्शन, सबै सडकहरु खुलाउन जेठ महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन्

भूकम्पका कारण आएका सुख्खा पहिरोले गर्दा अवरुद्ध भएका सबै सडकहरु खुलाउन जेठ महिनासम्म लाग्ने अधिकारीहरुले बताएका छन्।

मुख्य राजमार्गहरु सबै संचालनमा ल्याइसकिएको र हाल सहायक मार्ग र ग्रामीण सडकहरु खोल्ने काम भइरहेको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ।

सिंगटी

सडक पुन: संचालन गर्न सबै भन्दा कठीन देखिएको दोलखाको सिंगटी क्षेत्रको सडक पनि तीन दिन भित्र संचालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ।

दुई पटक आएका ठूला भूकम्प र त्यसपछि आएका पराकम्पनहरुका कारण विभिन्न सडकहरुमा पहिरो आउने क्रम निकै दिनसम्म चलिरह्यो।

जसका कारण विशेषत राजधानी काठमाण्डूलाई चीनसँग जोड्ने सडक र भूकम्प प्रभावित जिल्ला जाने सडकहरु अवरुद्ध भए।

हालसम्म चीन जोड्ने र भूकम्प प्रभावित सबै जिल्लाका सदरमुकाम जोड्ने सडकहरु खोलेर त्यहाँ यातायात संचालन भइरहेको नेपाल प्रहरीका प्रवक्ता कमल सिंह वमले बताए।

उनले भने “काठमाण्डूबाट कोदारी जाने, नुवाकोट हुँदै रसुवागढी सम्म जाने, त्यसै गरी दोलखा र रामेछाप सदरमुकाम जाने राजमार्गहरु पहिरोका कारण अवरुद्ध भएका थिए। सबै अहिले खोलेर संचालन भइरहेका छन्।”

भूकम्प लगत्तै अवरुद्ध सडक खुलाउने जिम्मा पाएको भौतिक योजना तथा यातायात मन्त्रालयले राजमार्गहरु खोलिसकेको भए पनि सदरमुकामहरुलाई गाउँसम्म जोड्ने काम भने नसकिएको जनाएको छ।

हाल ती ग्रामीण सडकहरु खुलाउने काम भइरहेको र त्यो काम सकिन जेठ महिना नै लाग्ने भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए।

उनले भने “यो वर्षामा भरपर्ने स्थिति छ। वर्षा लाग्ने वित्तिकै अरु थप पहिरोहरु आउन सक्छ। तर राहत वितरणका लागि तथा निर्माण र खाद्य सामाग्री पुर्याउनका लागि जेठ मसान्त सम्म चालु राख्छौं।“

सबैभन्दा बढी समस्या दोलखाको सिंगटी लामाबगर जोड्ने सडकमा देखिएको मन्त्रालयले जनाएको छ।

अहिले पनि बेला बेला पहिरो झरिरहेको भए पनि अबको तीन दिनमा उक्त सडक पनि संचालनमा आउने सचिव सिटौलाले बताए।