ऋण संकटबारे ग्रीसले नयाँ प्रस्ताव राख्ने

अधिकांश ग्रीकले अन्तर्राष्ट्रिय ऋणदाताले राखेका शर्तहरु नमान्‍ने सरकारी अडानलाई समर्थन गरेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अधिकांश ग्रीकले अन्तर्राष्ट्रिय ऋणदाताले राखेका शर्तहरु नमान्‍ने सरकारी अडानलाई समर्थन गरेका छन्

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सीप्रासले आफ्नो देशको ऋण संकटबारे युरोपेली नेताहरु समक्ष आज नयाँ प्रस्ताव प्रस्तुत गर्दैछन्।

ग्रीसको पछिल्लो स्थितिबारे छलफल गर्न ब्रसेल्समा युरोजोनका देशहरुको आपतकालीन बैठक हुँदैछ।

फ्रान्स र जर्मनीले युरोजोनबाट बाहिरनबाट रोक्न र देशको ऋण संकट अन्त्य गर्न तत्काल विशेष प्रस्ताव तयार गर्न ग्रीसलाई आग्रह गरेका छन्।

विकासक्रम

आपसी वार्तापछि फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ ओलान्दले अहिले ग्रीक मात्र नभई पुरै युरोपको निम्ति नयाँ प्रस्ताव आवश्यक रहेको बताए।

जर्मन चान्सलर एंगेला मर्केलले यो समय महत्वपूर्ण रहेको बताइन्।

युरोमुद्रा प्रचलनमा रहेको युरोजोन सदस्य राष्ट्रका अर्थमन्त्रीहरुले ग्रीसले नयाँ सुधारका प्रस्तावहरु अघिसार्नु पर्नेमा जोड दिएका छन्।

ग्रीसका अधिकांश जनताले आफ्नो देश समक्ष अन्तर्राष्ट्रिय ऋणदाताले राखेका सर्तहरु मान्‍न अस्वीकार गरेपछि घट्नाक्रममा तीव्र विकास भइरहेको छ।

जनमत संग्रहमा ऋणदाताका शर्तहरु मान्न 'हुन्छ' कि 'हुन्न' भनि गराइएको जनमत संग्रहमा ६० प्रतिशतभन्दा बढी मतदाताले आफ्नो सरकारको अडानलाई साथ दिँदै 'हुन्न' भन्ने पक्षमा मत हालेका थिए।

वित्तीय दबाब

युरोपेली केन्द्रीय बैंकले पनि ग्रीसको वित्तीय प्रणालीमाथि दबाब बढाएको छ।

युरोपेली केन्द्रीय बैंक इसीबीले ग्रीक बैंकहरुलाई आपतकालीन सापटी बढाउन अस्वीकार गरेको छ।

उसले करिब ८९ अरब युरो बराबरको मौजुदा आपतकालीन ऋणको सुरक्षाको निम्ति कदमहरु चाल्न ग्रीक बैंकहरुलाई निर्देशन दिएको छ।

एथेन्सबाट बीबीसीका मार्क लोयन भन्छन्, “इसीबीले आपतकालीन सहायता निरन्तर कायम राख्ने तर त्यसको मात्रा नबढाउने निर्णय गरेको छ। सम्भवत: त्यसबारे युरोजोन बैठकमा मंगलवार थप प्रगति हुनेछ, जहाँ ग्रीसका प्रधानमन्त्री सीप्रासले यसअघिका प्रस्ताव जनमतसंग्रहबाट अस्वीकृत भएपछि नयाँ प्रस्ताव अघि सार्नेछन्।”

ग्रीसका बैंकहरु बुधबारसम्म बन्द रहनेछन् र रकम झिक्न तोकिएको सीमा कायमै रहने छ।