ग्रीसले गुजार्यो ऋण तिर्ने म्याद

पछिल्लो घटनाक्रमसँगै ग्रीस युरोजोनबाट बाहिरिन सक्ने आशंका बढेको छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पछिल्लो घटनाक्रमसँगै ग्रीस युरोजोनबाट बाहिरिन सक्ने आशंका बढेको छ

लामो समयदेखि जारी अन्योलबीच अन्तर्राष्ट्रिय मुद्रा कोषलाई मंगलबारसम्ममा १ अर्ब ६० करोड युरो ऋण तिर्नुपर्ने म्याद अन्ततः ग्रीसले गुजारेको छ।

युरो मुद्रा प्रचलनमा रहेका युरोजोनका मन्त्रीहरुले वर्तमान सहायता कार्यक्रमको समयावधि बढाउन ग्रीक सरकारले गरेको आग्रह अस्वीकार गरेपछि उसले ऋण तिर्नुपर्ने निर्धारित समयसीमा गुजारेको हो।

युरोजोनका मन्त्रीहरुले नयाँ सहायता कार्यक्रमका निम्ति म्यादको अन्तिम समयमा ग्रीसले दिएको सुझावबारे चाहिँ छलफल गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ऋण तिर्न विफल हुने ग्रीस पहिलो विकसित मुलुक बनेको छ र औपचारिक रुपमा ऊ ऋणीको सूचीमा परेको छ।

आशंका

र, पछिल्लो घटनाक्रमसँगै ग्रीस युरोजोनबाट बाहिरिन सक्ने आशंका बढेको छ।

मंगलबार राति १० बजेपछि मुद्रा कोषले कर्जा तिर्न ग्रीस विफल भएको पुष्टि गरेको थियो।

कोषका प्रवक्ता जेर्री राइसले भने, “ग्रीस अहिले ऋणी बनेको र बक्यौता तिरेपछि मात्र उसले कोषबाट रकम पाउन सक्छ भनेर हामीले हाम्रो कार्यकारी बोर्डलाई जानकारी गराएका छौँ।”

युरोजोनको वर्तमान सहायता कार्यक्रमको समयावधि समाप्तिसँगै कोषमा रहेको अर्बौं युरोमा ग्रीसले पहुँच गुमाएको छ र उसले मुद्रा कोषलाई कर्जा तिर्न सक्ने छैन्।

“पागलपन”

यसअघि युरो समूहका प्रमुख तथा डच अर्थमन्त्री यरुन डाइ सब्लुमले युरोपेली प्रस्तावहरु मान्न ग्रीस तयार नभएकोले मंगलबारको म्याद गुज्रिएपछि सहायता कार्यक्रमको समयसीमा बढाउनु “पागलपन” हुने बताएका थिए।

युरोजोनका अन्य अर्थमन्त्रीहरुसँग संयुक्त रुपमा टेलिफोन कुराकानी गरेपछि उनले नयाँ सहायतास्वरुप ग्रीसले २९ अर्ब १० करोड युरो माग गरेको विषयमा पछि विचार गरिने जनाए।

ग्रीसका तीन ठूला ऋणदाताहरुमध्येको एक युरोपियन कमिसन चाहन्छ- ग्रीसले कर बढाओस् र कल्याणकारी खर्चमा कटौती गरोस् ताकि उसले ऋण तिर्न सकोस्।