हराइरहेको मलेसियन विमानबारे नयाँ अनुसन्धान

एमएच ३७० उडान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हराइरहेको मलेसियन विमान शुरुमा क्वालालम्पुरबाट उत्तरतर्फको उडान मार्गमा रहेको थियो

हिन्द महासागरको फ्रान्सेली टापु ला रियुनियनको किनारमा विमानको पखेटको अंश फेला परेपछि त्यो मलेसियन विमानकै हो कि होइन भनेर अनुसन्धान शुरु गरिएको अधिकारीहरुले बताएका छन्।

सन् २०१४ को मार्चमा हराएपछि मलेसियन एअरलाइन्सको बोइङ-७७७ विमानबारे केही थाहा हुन सकेको छैन, न त त्यसमा रहेका कसैलाई जीवित नै भेटिएको छ।

त्यो विमानमा २ सय ३९ व्यक्ति सवार थिए।

ला रियुनियन टापु यसअघि मलेसियन एअरलाइन्सको विमान खोजी गरिएका क्षेत्रबाट धेरै टाढा मादागास्करदेखि पारिपट्टी रहेको छ।

उड्यनविद् ज्याभिएर त्यतेलम्यानले भेटिएको टुक्रा बोइङ-७७७ कै जस्तो देखिएको बताए।

सम्भावना

अमेरिकीविज्ञहरु पनि त्यो टुक्रा हराइरहेको विमान बोइङ-७७७ कै पखेटाको अंश भएको हुन सक्नेमा बढी विश्वस्त पाइएका वासिङटनस्थित बीबीसीका टम ब्याटम्यानले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्।

उनी भन्छन्, “रियुनियनमा समुद्री किनार सफा गर्ने क्रममा विमानको त्यो टुक्रा फेला परेको थियो, एक प्रत्यक्षदर्शीको भनाइमा त्यसलाई समुद्रीजीवका खोलले ढाकेको थियो।”

मलेसियाली सरकारले त्यो भग्नावशेषको अध्ययन गर्न रियुनियन टापुतर्फ एक टोली पठाएको बताएको छ।

मलेसियन एअरलाइन्सको एमएच ३७० उडानको बोइङ ७७७ एक मात्र त्यो मोडलको विमान हो जुन हराइरहेको छ।

फ्रान्सका विशेषज्ञहरुले चाहिँ विमानको सो भग्नावशेषलाई अहिले नै हराइरहेको बोइङ ७७७ कै अवशेष नै हो भनेर भन्न नमिल्ने बताएका छन्।

रहस्यमय

हराइरहेको विमानको खोजीमा सक्रिय अष्ट्रेलियाली अनुसन्धानकर्ताहरुले पनि विमान निर्माताहरुसँग सम्पर्क गरेका छन्।

अष्ट्रेलियाका टोलीहरुले पश्चिम अष्ट्रेलियाको तट पारिको ६० हजार वर्ग किलोमिटर क्षेत्रमा विमान दुर्घटना भएको ठानी खोजी केन्द्रित गरिरहेका छन्।

रियुनियन टापु त्यहाँबाट ६ हजार किलोमिटर टाढा पूर्वी अफ्रिकी तटमा अवस्थित मादागास्कर पारिपट्टी रहेको छ।

क्वालालम्पुरबाट उत्तर तर्फको उडानमार्गमा रहेको विमान अचानक मोडिएर टाढा गएपछि मलेसियन विमानलाई के भयो भन्ने कुरा रहस्यकै गर्भमा रहेको छ।