‘इबोलाका कारण यात्रा प्रतिबन्धहरु अतार्किक’

इबोला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इबोलाका कारण लगाइने यात्रा प्रतिबन्धहरुले त्रास थप बढाइदिन सक्ने कतिपयले जनाएका छन्

संयुक्त राज्य अमेरिकाले इबोलाको प्रकोपको केन्द्रमा रहेका तीन पश्चिम अफ्रिकी मुलुकहरुबाट भ्रमण गर्ने यात्रुहरुमाथि थप सुरक्षा नियमनको घोषणा गरे लगत्तै रेडक्रस तथा रेड क्रेसेन्ट संस्थाहरुको अन्तर्राष्ट्रिय महासंघका महासचिव एल हाज आसीले त्यसो गर्नु अनुचित भएको बताएका छन्।

उनले त्यस्ता कदमहरु तर्कसंगत नभएको भन्दै त्यसले त्रास बढाएको बताए।

“यी कुनै समाधान होइनन्। कसरी यस्ता भाइरस र यस्ता महामारी नियन्त्रणका लागि हामीले महामारीको केन्द्रविन्दुमै त्यसको नियन्त्रण गर्न मिलेर काम गर्न सक्छौं भन्ने पो समाधान हो,” उनले भने।

आसीले भने, "सीमा बन्द गर्ने, उडान रद्द गर्ने वा देशहरुलाई एक्ल्याउने जस्ता कदमहरुका पछाडि कुनै तर्क छैन र त्यसले केवल त्रास सिर्जना गर्छ।"

छलफल

यसैबीच इबोलाले उब्जाएको समस्या समाधान तथा यात्रा नियमनबारे छलफल गर्न विश्व स्वास्थ संगठनको आपत्कालिन समितिको बैठक बस्दै छ।

अमेरिकाले सियरा लियोन, लाइबेरिया तथा गिनीबाट आउने यात्रुहरुलाई केवल पाँच निर्दिष्ट विमानस्थलमार्फत मात्र आउन पाउने गरी नयाँ नियम लागू गरेको छ।

ती विमानस्थलमा त्यस्ता यात्रुहरुको थप परीक्षण गरिनेछ।

लाइबेरियाका एक व्यक्तिलाई अमेरिकामा इबोला भएको भेटिएको र उनको उपचारमा संलग्न दुई नर्सलाई सो रोग सरेको पाइएपछि अमेरिकामा इबोलाबारे चिन्ता बढेको थियो।

हालको इबोला प्रकोपमा परी करीब ४५ सय मानिसको ज्यान गइसकेको छ।

तीमध्ये अधिकांश गिनी, लाइबेरिया तथा सियरा लियोनका वासिन्दा रहेका छन्।