इराकमा विद्रोही विरुद्ध संयुक्त कारवाही जारी

अमेर्लि शहर विद्रोहीको कब्जाबाट मुक्त भएपछि स्थानीयले खुशी मनाएका थिए

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, अमेर्लि शहर विद्रोहीको कब्जाबाट मुक्त भएपछि स्थानीयले खुशी मनाएका थिए

इराकी सिया मिलिसिया र कुर्द फौजले इस्लामिक स्टेट (आईएस) का लडाकूहरुको कब्जामा रहेको उत्तर इराकस्थित अमेर्लि शहर मुक्त गराएपछि लडाकू विरुद्धको कारवाही जारी राखेका छन्।

आक्रमणका क्रममा संयुक्त फौजले विद्रोही लडाकूहरुको नियन्त्रण रहेको अर्को इलाका सुलेमान बेगलाई पनि नियन्त्रणमा लिएका छन्।

दुई महिनादेखि विद्रोहीहरुको कब्जामा रहेको अमेर्लि शहर पुगेर बीबीसीको एउटा टीमले त्यहाँका बासिन्दाहरुसँग भेट गरेको छ।

ठूलो सफलता

जहाँका बासिन्दाले आईएसको प्रतिरोध गर्न खोज्दा आम हत्याको धम्की खेपेका थिए।

सोमवार उक्त शहर पुगेका बीबीसीका सम्वाददाता ग्याब्रेयल गेटहाउसको आफ्ना परिवारसँगको पुनर्मिलनबाट प्रसन्न मानिसहरुसँग भेट भयो।

भेटमा उनीहरुले त्यहाँको स्थिति सामान्य बनाउन थुप्रै काम गर्नु पर्ने खाँचो औंल्याएका थिए।

बीबीसी सम्वाददाताका अनुसार उक्त इलाकाका कतिपय क्षेत्रमा अझै पनि आईएसको पकड छ जहाँ यात्रा गर्नु अझै पनि जोखिमपूर्ण छ।

बीबीसी सम्वाददाता ग्याब्रेयल गेटहाउस भन्छन्, “इराकी र कुर्द फौजद्वारा आईएसका लडाकूहरु विरुद्ध गरिएको पछिल्लो हमला विगत केही महिना यताको ठूलो सफलता हो।”

अमानवीय

विद्रोहीको आक्रमणका कारण इराकमा विस्थापित भएका दशौं हजार मानिसको विचल्लि छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विद्रोहीको आक्रमणका कारण इराकमा विस्थापित भएका दशौं हजार मानिसको विचल्लि छ

द्वन्द्वग्रस्त इराकमा आईएस सम्बद्ध लडाकूहरुद्वारा गरिएका हिंसाको अनुसन्धान गर्न राष्ट्रसंघीय मानवअधिकार परिषदले एउटा टीम इराक पठाउने भएको छ।

परिषद्ले ‘युद्ध र मानवता विरुद्धको अपराध हुनसक्ने अकल्पनीय ढंगले गरिएका अमानवीय कृत्यका प्रमाण आफूसँग भएको’ बताएको छ।

राष्ट्रसंघ मानवअधिकार परिषदकी उप-आयुक्तले लडाकूहरुले नागरिकहरुमाथि नियोजित रुपमा आक्रमण गरेको बताइन्।

मानवअधिकार अभियान समूह एम्नेष्टी इन्टरन्यासनलले पनि उत्तरी इराकमा आईएसले जातीय सफाया थालेको नयाँ प्रमाणहरु फेला पारेको जनाएको छ।

उसको रिपोर्टले भनेको छ, “आईएसले इराकमा जातीय र धार्मिक अल्पसंख्य विरुद्ध सामूहिक हत्या र अपहरण सहितका युद्ध अपराध गरिरहेका छन्।”

उथलपुथल

त्यहाँ इस्लाम धर्म मान्न अस्वीकार गर्ने कयौं मानिसहरु मारिएका र महिला तथा युवतीहरुलाई आईएसका लडाकूहरुले दास बनाउने गरेको बताइएको छ।

समाचारहरुका अनुसार दुईहजार भन्दा बढी यजिदी समुदायका महिला तथा बालबालीका बन्धक बनाइएका छन्।

इराकका लागि राष्ट्रसंघीय सहायता मिसनले गत अगस्तमा एक हजार चार सय मानिसको हत्या भएको बताएको छ, जसमा अधिकांश सर्वसाधारण नागरिक छन्।

पछिल्ला केही महिनादेखि आईएस र उसका समर्थक समूहहरुले इराकको उत्तर र पश्चिम क्षेत्रको ठूलो भाग कब्जामा लिएका छन्।

त्यसपछि त्यहाँ उथल पुथल तीव्र भइरहेको छ।