हत्या अभियोगमा अमेरिकी छात्रालाई सफाई

अधिकारीहरुका अनुसार  अमान्डा नक्स र मेरेडिथ कर्चर एउटै फ्ल्याटमा बस्दै आएका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अधिकारीहरुका अनुसार अमान्डा नक्स र मेरेडिथ कर्चर एउटै फ्ल्याटमा बस्दै आएका थिए।

इटलीको सर्वोच्च अदालतले अमेरिकी छात्रा अमान्डा नक्स र उनका पूर्व केटासाथी राफाएले सोलेसिटोमाथि तल्लो अदालतहरुले लगाएको हत्याको अभियोग उल्ट्याई दिएको छ।

यसअघि उनीहरुले एकजना ब्रिटिस छात्रा मेरेडिथ कर्चरको हत्या गरेको अदालतहरुले निर्णय सुनाएका थिए।

लामो समयदेखि चलिरहेको मुद्दामा इटलीको सर्वोच्च अदालतले शुक्रबार अन्तिम फैसला सुनाएको हो।

सन् २००९ मा उनीहरु हत्याका लागि दोषी ठहर्याइएका थिए।

रिहा

तर एउटा अदालतले सफाई दिएपछि सन् २०११ मा उनीहरु रिहा भएका थिए।

त्यसपछि गत वर्ष अर्को अदालतले उनीहरुलाई दोषी ठहर गरिदिएको थियो।

कर्चर सन् २००७ मा मृत फेला परेकी थिइन्।

उनी नक्ससँगै एउटै फ्ल्याटमा बस्दै आएकी थिइन्।

नक्स र उनका इटालियन पूर्व केटासाथीले आफूहरु निर्दोष रहेको बताउँदै आएका थिए।

सर्वोच्च अदालतको फैसलासँगै उनीहरुको लामो कानुनी लडाइ अन्त्य भएको छ।

अमान्डा नक्ससँगै उनका पूर्व केटासाथी राफाएले सोलेसिटोले पनि सफाई पाएका छन्

तस्बिर स्रोत, AP

तस्बिरको क्याप्शन, अमान्डा नक्ससँगै उनका पूर्व केटासाथी राफाएले सोलेसिटोले पनि सफाई पाएका छन्

अदालतको फैसलाको पूर्ण पाठ ९० दिनभित्र उपलब्ध हुने बताइएको छ।

न्याय

सर्वोच्च अदालतको फैसलापछि आफूले निकै राहत महसुस गरेको नक्सले बताइन्।

एउटा वक्तव्यमा उनले भनेकी छन्, “यो सुनुवाईको अंध्यारो समयमा म निर्दोष रहेको ज्ञानले मलाई शक्ति प्रदान गरेको छ।”

अदालतले शुक्रबार सुनाएको फैसलाबाट आफूहरु उत्साहित बनेको नक्सको परिवारका सदस्यहरुले बताएका छन्।

उनीहरुले भनेका छन्- अमान्डा र हाम्रो परिवारलाई सहयोग गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ।

मृतक कर्चरको परिवारको वकिलले भने अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

समाचार संस्था एपीलाई उनले भने, “मेरो विचारमा यो इटालियन न्याय प्रणालीको हार हो।”