टर्किस् विमानको काठमाण्डूमा ‘खराब अवतरण’

टर्किस् विमान

तस्बिर स्रोत, Hemanta Shrestha

तस्बिरको क्याप्शन, विमानको जमिनमा भासिएको चक्कामा क्षति पुगेको अनुमान गरिएको छ

टर्किस् एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलनमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएपनि ठूलो दुर्घटनाबाट बचेको अधिकारीहरुले बताएका छन्।

विहान करिव ७ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा सो विमान धावनमार्गको करिब बीचभाग नजिकै पुग्न लाग्दा पाङ्ग्रा जमिनमा जोतिएर रोकिन पुगेको थियो।

घटना लगत्तै उद्धार कार्यलाई तीब्रता दिइएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका एक प्रबन्धक पूर्ण चुडालले घटनाबारे अनुसन्धान भइरहेको बीबीसी नेपाली सेवालाई बताए।

“यो दुर्घटना होईन, खराब अवतरण मात्रै हो, हामी घटनाको कारणबारे सोधपुछ र अनुसन्धान गर्दैछौं।”

'सकुशल'

टर्कीको इस्तानबुलबाट आएको सो विमानमा २२७ मानिस रहेका थिए।

अवतरणको पहिलो प्रयास विफल भएपछि विमानले अवतरणको दोस्रो प्रयास गरेको थियो र सोही क्रममा सामान्य दुर्घटना भएको हो।

घटनामा दुई वा तीन जना मानिस सामान्य घाइते भएको चुडालले बताए।

“सबै सकुशल छन्, कोही पनि अस्पताल लैजानुपर्ने गरी घाइते छैनन्।”

टर्किस् विमान चिप्लिए लगत्तै सम्भाव्य आगलागीबाट जोगाउन अग्नी नियन्त्रकहरु परिचालित थिए।

बन्द

सो एअर बस विमान रोकिएपछि खिचिएको एक अनलाइनमा प्रकाशित भिडिओमा यात्रुहरु आपतकालीन ढोकाहरुबाट चिप्लिदै झरिरहेको देख्न सकिन्छ।

सो विमानको जमिनमा भासिएको चक्कामा क्षति पुगेको अनुमान गरिएको छ।

टर्किस् विमानलाई धावनमार्ग नजिकैको चौरबाट टरम्याकमा लैजान केही घण्टा लाग्ने अधिकारीहरुले बताएका छन्।

आन्तरिक उडानहरु दिउँसोबाट शुरु गर्ने तयारी भइरहेको, तर अन्तर्राष्ट्रिय उडानहरुका लागि विमानस्थल साँझ पाँच बजेसम्म बन्द रहने चुडालले बताए।