२६ सभासदको मनोनयन 'तत्काल नहुने'

प्रधानमन्त्री फर्केकै दिन सत्तारुढ एमालेका अध्यक्ष विदेशिएकाले महत्वपूर्ण निर्णय तत्काल नहुने संकेत छ

तस्बिर स्रोत, Jitendra Raut

तस्बिरको क्याप्शन, प्रधानमन्त्री फर्केकै दिन सत्तारुढ एमालेका अध्यक्ष विदेशिएकाले महत्वपूर्ण निर्णय तत्काल नहुने संकेत छ

संविधान सभा निर्वाचन भएको आठ महिना पुरा हुँदा पनि सरकारले संविधान सभा पूर्ण बनाउन सकेको छैन।

प्रधानमन्त्री सुशील कोईराला स्वदेश फर्किए लगत्तै हुने भनिएको २६ सभासदको मनोनयन समेतका केही महत्वपूर्ण निर्णयहरु पनि तत्काल हुने देखिन्न।

आफ्नो दलका अध्यक्ष विदेश गएकाले केही समय पछि गरिनुपर्ने धारणा सरकारको दोस्रो ठूलो घटक नेकपा एमालेका महासचिवले राखेपछि त्यो अझ धकेलिने निश्चित भएको छ।

महत्वपूर्ण निर्णयहरु लिन दलको ताजा महाधिवेशनबाट निर्वाचित आफ्ना अध्यक्षको उपस्थिति जरुरी रहेको एमाले महासचिव इश्वर पोखरेलको भनाइ छ।

थाँती

प्रधानमन्त्री कोइराला उपचार गराएर फर्किएकै दिन मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारकै लागि विदेश गएका छन्।

संविधानसभाका २६ सभासदको मनोनयन, सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन, राष्ट्रिय मानवअधिकार आयोगको गठन लगायतका कतिपय विषयहरु लामो समय देखी प्रधानमन्त्री देश बाहिर रहेकाले थाँति रहँदै आएका छन् ।

प्रधानमन्त्री कोईराला एक महिना लामो उपचार सकेर स्वदेश फर्किए पछि ति कामहरु तत्कालै हुने सरकारी भनाईहरु आइरहेका थिए ।

तर ‌एमाले महासचिव ईश्वर पोख्रेलले २६ सभासदको मनोनयन आफ्नो पार्टीका अध्यक्षको उपस्थितिमै गरिनु पर्ने धारणा अघि सारेका छन ।

नियमित जाँच

उनी भन्छन्, "यो विषय जरुरी हुँदा हुदै पनि हाम्रो पार्टी अध्यक्ष यो नियमित परीक्षणको शिलशिलाबाट आउना साथ छलफल गरेर टुङग्याउनु गर्दछ । पार्टी अध्यक्षको उपस्थितीमै यस्ता कुराको निर्णय हुनु राम्रो हुन्छ ।"

ओली नियमित स्वास्थ्य जाँचका लागि गएकाले स्वदेश फर्किन धेरै समय नलाग्ने उनको भनाइ छ।

काठमाडौं‌स्थित बीबीसी संवाददाता भन्छन्, कहिले प्रधानमन्त्री त कहीले सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका नव निर्वाचित अध्यक्ष, शीर्ष नेताहरु उपचारका लागि विदेश लाग्दा त्यसले संविधान निर्माणका कार्यतालिकामा पनि असर पर्ने हो कि भन्ने आशंकाहरु बढदै गएका छन ।