‘सरकारद्वारा १७ सभासद मनोनयन’

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको असन्तुष्टिका कारण संविधानसभाले पूर्णता पाउन अझै समय लाग्ने देखिन्छ
तस्बिरको क्याप्शन,

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको असन्तुष्टिका कारण संविधानसभाले पूर्णता पाउन अझै समय लाग्ने देखिन्छ

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी र तराई केन्द्रित दलहरुले आफ्नो तर्फबाट नाम नपठाएपछि सरकारले २६ जना सभासदहरु मध्ये नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट शुक्रबार १७ जनालाई मनोनयन गरेको छ।

बाँकी सभासदहरुको मनोनयन छिट्टै गरिने सरकारका प्रवक्ताले बताएका छन्।

मनोनयमा परेकाहरुको सुची प्रकाशित हुने बित्तिकै कतिपय नामहरु विवादमा परेका छन्।

मनोनित हुने सभासदहरुको संख्या बाँडफाँड वैज्ञानिक नभएको भन्दै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी र तराई केन्द्रित दलहरुले आफ्नो तर्फबाट नाम नपठाएको बताएका छन्।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको तर्फबाट ९ जना, सत्ता साझेदार नेकपा एमालेबाट ८ जना र राप्रपा नेपालको तर्फबाट एक जनालाई सभासदमा मनोनयन गरेको सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बताए।

मनोनयन

तर कांग्रेसले सर्वोच्च अदालतको आदेश विपरित समानुपातिक सुचीमा परेकी रुक्मिणी कोइरालालाई मनोनयनमा पारेको भन्दै आलोचना हुन थालेपछि लगत्तै उनको नाम हटाइएको बताईएको छ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिहरु र निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातीमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्ले २६ जना सभासद मनोनयन गर्नुपर्ने अन्तरिम संविधानमा व्यवस्था गरिएको छ।

मनोनयन हुने सभासदहरुको दलीय भागबण्डाप्रति प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी र तराई केन्द्रित दलहरुले भने तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

संसदको शुक्रबारको बैठकमा बोल्दै सो पार्टीका अध्यक्ष प्रचण्डले सत्तारुढ दलहरुबाट सभासदहरुको बाँडफाँड मनोमानी ढंगले गरिरहेको आरोप लगाए।

बाँडफाँड

एकीकृत माओवादीले मनोनयनका लागि सरकारलाई नाम नपठाएको कारणबारे उक्त पार्टीका प्रमुख सचेतक गिरिराजमणि पोख्रेलले भने, “यो अहिले बाँडिएको जुन संख्या छ, त्यसबारेमा प्रतिपक्षी दलहरुसँग छलफल गरेर एउटा सहमति गर्नुपर्ने जरुरी छ। एउटा दलको अध्यक्षले कुरा उठाईसकेपछि त्यसको बारेमा बसेर एउटा संवाद गरेर त्यो ठीक छ कि छैन भन्ने निरुपण गर्नुपर्थ्यो नि।”

कांग्रेस, एमाले र राप्रपा नेपालबाट शुक्रबार मनोनित भएकाहरु व्यक्तिगत सम्बन्ध र पार्टीगत आधारमै छानिएको देखिएको छ।

एमालेको भागमा परेका ८ जनामध्ये मीरा धुजु उक्त पार्टीका महासचिव ईश्वर पोख्रेलकी श्रीमति हुन्।

राप्रपा नेपालबाट सभासद मनोनयनमा परेका गणेश थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाई हुन्।

अन्य कतिपयको मनोनयन पनि पैसा र पहुँचको आधारमा गरिएको सम्बन्धित पार्टीकै कतिपय नेताहरुले बताएका छन्।