पर्यटकको संख्या घट्न सक्ने चिन्ता

गएको फागुनमा भएको भीषण हिमपहिरोले ठूलो क्षति पु-याएपछि सगरमाथाको आरोहण लगभग शून्य रहेको थियो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, गएको फागुनमा भएको भीषण हिमपहिरोले ठूलो क्षति पु-याएपछि सगरमाथाको आरोहण लगभग शून्य रहेको थियो

यस वर्ष भएका दुई ठूला प्राकृतिक विपतका कारण नेपालको भ्रमण गर्ने विदेशी पर्यटकहरुको संख्या घटन सक्ने भन्दै पर्यटन व्यवसायी तथा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

गएको वैशाखमा हिमपहिरोका कारण सगरमाथा क्षेत्रमा १६ जना शेर्पाहरुको निधन भएको र अघिल्लो हप्ता अन्नपूर्ण र आसपासका पदयात्रा मार्गमा हिमपात र हिमपहिरोका कारण २१ विदेशी सहित ४१ जनाको निधन भएको थियो।

ती घटनाका कारण असुरक्षा दर्शाउँदै नेपाल भ्रमण गर्न आउने विदेशीहरुले तिर्नुपर्ने बीमा रकम बढ्न सक्ने चिन्ता व्यवसायीहरुको छ।

पछिल्ला प्राकृतिक विपतहरुका कारण संसारभर गएको गलत सन्देशले पार्न सक्ने प्रभाव न्यूनिकरण गर्न कदमहरु चालिने पर्यटन विभागका महानिर्देशकले बीबीसीलाई बताए।

चिन्ता

बैशाखमा सगरमाथाको आधार शिविरमा गएको भीषण हिमपहिरो जस्तै अघिल्लो हप्ता अन्नपूर्ण पदयात्रा मार्ग र आसपासका उच्च हिमाली भेगहरुमा भएको मानवीय क्षतिले संसारको ध्यान नेपालतर्फ खिंचेको थियो।

होटल एशोसियसन अफ नेपालका महासचिव विनायक शाहले पछिल्ला विपत्तीको प्रभाव तत्कालै नदेखिए पनि यसले गर्दा नेपाल आउने विदेशी पर्यटकहरुको संख्या घट्न सक्ने बताए।

“तुरुन्तै केही प्रभावहरु देखिएको छैन तर त्यत्रो मानिसहरु मरेका छन् जसले गर्दा केही नकारात्मक प्रभावहरु परिहाल्छ। नेपाल आउनु अघि थप सोधिखोजी हुन्छ, यस्ता घटनाहरु भएपछि पर्यटकहरुले नेपाल भ्रमण गर्दा बढी बीमा शुल्क तिर्नुपर्ने हुनसक्छ,” शाहले भने।

एकै वर्ष आरोही र पदयात्रीहरुको निकै चहलपहल हुने दुई प्रमुख क्षेत्रहरुमा फरक फरक मौसममा दुईवटा दुखद प्राकृतिक विपत्ती सामना गर्नुपरेपछि व्यवसायीहरुको चिन्ता सार्वजनिक भएको हो।

हिमाली भेगमा हिमपात र हिमपहिरोका खतराबारे पर्वतारोही र त्यस्ता क्षेत्रमा आउने पदयात्रीहरु जानकार नै रहने भन्दै कतिपय व्यवसायीहरुले पछिल्ला विपत्तीको प्रभाव लामो समयसम्म भने नदेखिने विश्वास लिएका छन्।

नेपाल एशोसियसन अफ टुर अपरेटर्सका अध्यक्ष अशोक पोख्रेलले तत्काल नेपालबारे संसारभर नकारात्मक समाचार बाहिर गएपनि दीर्घकालीन रुपमा प्राकृतिक प्रकोपले निम्त्याएको क्षतिका कारण पर्यटकहरुको संख्या नघटने बताए।

सुधार

पछिल्ला विपत्तीबाट केही पाठ सिकेको भन्दै अधिकारीहरुले हिमाल आरोहण र पदयात्रा पर्यटनलाई व्यवस्थित बनाउन नीतिगत र कानुनी सुधारहरु गर्ने यसअघि नै बताइसकेका छन्।

उच्च हिमाली भेगमा पदयात्रा जाने टोलीहरुसँग तालिमप्राप्त पथप्रदर्शक खटाउने, मौसम पूर्वानुमान सम्बन्धी सूचनाको अधिकतम प्रयोगमा जोड दिने, एक्लाएक्लै र आफुखुशीको सट्टा ट्रेकिङ एजेन्सीमार्फत पदयात्रा गर्न प्रोत्साहित गर्ेन लगायतका कदम चालिने सरकारी भनाइ छ।

पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले पछिल्ला विपत्तीले नराम्रो असर नपरोस् भन्नाका लागि सरकार सचेत रहेको बीबीसीलाई बताए।

उनले भने, “अलिकति नकारात्मक प्रभाव पर्छ कि भन्ने हामीलाई लागेको छ, त्यसलाई चिर्नका लागी हामी सावधानी अपनाउँछौँ।”

सन् २०१३ मा झन्डै आठ लाख विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए।